किरण राई (१४), दिपेन भुजेल (१५) र हुकमेन राई (१८)
साइकलका विली, स्टपी र जम्प स्टण्टमा पोख्त छन्। शहरका कार्यक्रमहरूमा निम्त्याइन
थालिएका उनीहरू साइकलका अरू स्टण्ट पनि सिकिरहेका छन्। 'राइडर्स एण्ड एमटिभी जोन क्लब'ले यी तीन जनालाई साइकलमा जोखिमपूर्ण कौशल (स्टण्ट) देखाउने खेलाडी बन्न हौस्याइरहेको छ।
किरण क्लबमै गाइड
छन्। अब बनी हम्प र स्टपी रोल गर्ने सोचमा रहेका उनी साइकल राइडिङ समूहको नेतृत्व गरेर विभिन्न स्थानमा जान्छन्।
धरान–१० का दिपेन एसएलसी परीक्षा दिएर साइक्लिङमा फुलटाइमर भएका छन्।
यसैगरी, हात्तीसार क्याम्पसमा पढिरहेका हुमेन
धरान वरिपरि जहाँ पनि साइकलमै भेटिन्छन्। पेट्रोल नचाहिने, स्वास्थ्य र
वातावरण दुवैको लागि साइकल राम्रो भएको उनी बताउँछन्।
धरानमा साइक्लिङ
सोख निकै बढेको छ। फरेन्द्र लिम्बूले साहसिक यात्राका लागि रु.८५ हजारको साइकल किनेका छन्। बाइकिङ क्लबबाट
साइक्लिङ शुरू गरेका फरेन्द्र राइडर्स
एण्ड एमटिभी जोन क्लबका एक जना संस्थापक हुन्। धरानमा माउन्टेन बाइकको पसल समेत खोलेका उनले एक वर्षमा रु.५० हजार
गोटाका ६ वटा साइकल बेचे।
हात्तीसार
क्याम्पसकी विद्यार्थी रकिला पौडेल महिलाहरूलाई साइक्लिङमा ल्याउने कसरतमा छिन्। क्लबले पनि महिलाहरूलाई साइक्लिङमा
ल्याउन प्याकेज टुरका कार्यक्रम ल्याउने गरेको छ।
साइक्लिङ रुट
रेस राइडिङ, फ्री राइडिङ, अरबान राइडिङ र रोड बाइकिङका लागि राम्रो मानिने धरान वरिपरि साइकल राइडिङका गजबका रुटहरू
रहेको क्लबका अध्यक्ष हेम लिम्बू बताउँछन्। त्यसमध्ये उत्तरमा भेडेटार, डाँडाबजार, ध्वजे डाँडा, राजारानी, ओख्रेबाट डाउनहिल याङसिला, पानमारा हुँदै एक दिनमा धरान आइपुगिने साहसिक रुट रहेको बताउँदै लिम्बू भन्छन्, “चिसो मौसममा पहाडी जनजीवन नियाल्दै धरान झार्नु यो रुटको विशेषता हो।”
![]() |
| धनकुटाको जोरपाटीमा फरेन्द्र लिम्बू । |
राइडरहरूका लागि
क्लबले गु्रप राइडको व्यवस्था गरेको छ– रु.५०० मा दिनभरिलाई माउन्टेन बाइकसहित। गु्रप राइडिङको लागि स्थानीय र साहसिक साइक्लिङका लागि विदेशीसहित इटहरी र
काठमाडौंका सौखिन धरान आउन थालेका छन्। उनीहरूका लागि दिपेनसहित दुई जना गाइड छन्।
साइकल सिटी
२०६७ सालमा दिपक राई, मनोज चाम्लिङ, सचिन राई, सन्तोष राई, दिलीप चाम्लिङ, कृष्ण राई र विष्णु लिम्बूले ग्रीन पायनियर्स ग्रुपमार्फत
धरानमा साइक्लिङ अभियान शुरू गरेका हुन्। धरानको साइक्लिङ
अभियानमा सुधन थापाको पनि देन छ। डिपो हाईस्कूलमा वातावरण विज्ञानका शिक्षक दिपक धरानमा वातावरणीय चेतना जगाउन पायनियर्स गु्रप खोलेको बताउँछन्।
भन्छन्, “मोटरसाइकलको जादुमा परेका धराने युवालाई हामीले हेलमेट लगाएर साइकल
चलाउन हौस्यायौं।”
अहिले पायनियर्स
ग्रुपका सदस्यहरू राइडिङ एण्ड एमटिभी जोन क्लबमा आबद्ध छन्। दुई वर्षअघि स्थापित राइडर्स क्लबका अनुसार अहिले
धरानमा २०० जनाले नियमित साइकल चलाइरहेका छन्। त्यसमध्ये
करीब २० जनासँग रु.३० हजारदेखि रु.१ लाख ५० हजारसम्मको माउन्टेन बाइक छ। क्लबले आउँदो तीन वर्षभित्र धरानलाई साइकलको शहर बनाउने लक्ष्य लिएको छ।
क्लबले उदय सामुदायिक वनमा साइकल पार्क समेत बनाउँदैछ।



